सुनसरी–३ मा ३ सय बढी जेनजी युवा भगबती चौधरीको अभियानमा, नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रवेश
बिराटनगर । सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ मा ३ सयभन्दा बढी जेनजी युवा नेपाल कम्युनिष्ट पार्टी (एमाले)मा प्रवेश गरेका छन्। इटहरीमा आयोजित ‘जेनजीसँग भेटघाट तथा अन्तर्क्रिया’ कार्यक्रममा सहभागी युवाहरूले एमाले उम्मेदवार भगबती चौधरीलाई विजयी गराउने अभियानमा सक्रिय बन्ने प्रतिबद्धता जनाएका हुन्।
कार्यक्रममा बोल्दै उम्मेदवार चौधरीले युवालाई पार्टीमा स्वागत गर्दै देश विकासका लागि युवामा लगानी अनिवार्य रहेको बताइन्। उनले स्वदेशमै रोजगारी र स्वरोजगारका अवसर सिर्जना गर्नुपर्नेमा जोड दिँदै जेनजी पुस्तालाई राष्ट्र निर्माणमा अग्रसर हुन आह्वान गरिन्।
एमाले सुनसरी–३ युवा परिचालन कमिटीको आयोजनामा वडा नम्बर ६ देखि १५ सम्मका युवाहरूको सहभागिता रहेको कार्यक्रममा कमिटी अध्यक्ष सबिन श्रेष्ठले युवाको उल्लेखनीय सहभागिताले उत्साह थपेको बताए।
सुनसरी–३ का चुनावी कमाण्डर लिलम बस्नेतले आगामी निर्वाचनमा चौधरीलाई ११ हजारभन्दा बढी मतान्तरले जिताउने दाबी गरे। गत निर्वाचनमा चौधरीले विजय कुमार गच्छदारलाई ५ हजार १ सय ८८ मतान्तरले पराजित गरेकी छिन्।
