निर्वाचन नहुने संशय हट्यो : अर्थमन्त्री खनाल

बिराटनगर । अर्थमन्त्री रामेश्वर खनालले निर्धारित मितिमा निर्वाचन हुने स्पष्ट पार्दै चुनाव नहुने भन्ने संशय हटेको बताएका छन्। राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रारम्भिक चरणमा देखिएका अन्योल र चुनौतीहरू संवाद र सहकार्यबाट समाधान भएको उल्लेख गरे।

उनका अनुसार सरकार गठनपछिका ५–६ हप्तासम्म राजनीतिक वृत्त र आम नागरिकमा निर्वाचन समयमै नहुने हो कि भन्ने आशंका रहे पनि अहिले त्यस्तो अवस्था नरहेको बताए। “दलहरूबीच निरन्तर संवाद र सहकार्यका कारण निर्वाचनका लागि आवश्यक वातावरण बनेको छ,” उनले भने।

अर्थमन्त्री खनालले अन्तरिम सरकारले मुलुकलाई निर्वाचनमा लैजान प्राथमिकता दिएको उल्लेख गर्दै बजेटमा समेटिएका कतिपय कार्यक्रमहरू कार्यान्वयन नगरी स्रोत व्यवस्थापनमा ध्यान केन्द्रित गरिएको स्पष्ट पारे। उनले स्रोत अभावका कारण निर्वाचन प्रक्रियामा कुनै अवरोध नआउने दाबी गरे।

त्यसैगरी उनले दिगो पर्यटन विकास, सुशासन प्रवर्द्धन र भ्रष्टाचार न्यूनीकरण सरकारका प्रमुख एजेन्डा भएको बताए। “सुशासन कायम गर्न र पारदर्शिता बढाउन सरकारले केही महत्वपूर्ण उपलब्धि हासिल गरेको छ,” मन्त्री खनालको भनाइ थियो।

निर्वाचनको मिति नजिकिँदै जाँदा सरकार निर्वाचन सम्पन्न गर्न पूर्ण प्रतिबद्ध रहेको उनले दोहोर्‍याए।

Sarita Karmakar