ठूला कुरा गर्दिन,जे भन्छु त्यो पूरा गर्छु ः भगबती चौधरी

बिराटनगर। सुनसरी क्षेत्र नम्बर ३ की एमाले उम्मेदवार भगबती चौधरीले पुरा गर्न नसकिने आश्वासन नदिने प्रतिबद्धता जनाउनुभएको छ । इटहरीमा सुनसरीका बुद्धिजिवीहरु सँग भन्नुभयो “म ठूलठूला तर पूरा हुन नसक्ने झुठा आश्वासन दिन्न तर जे प्रतिबद्धता जनाँउछु त्यो पुरा गरेर देखाँउछु ।” चौधरीले सुनसरी क्षेत्र नं. ३ लाई मुलुककै १० नमुना क्षेत्र मध्ये एउटा नमूना क्षेत्रका रुपमा विकास गर्ने आफू सँग स्पष्ट योजना रहेको सुनाउनुभयो ।

अघिल्लो चुनाबमा काँग्रेसका बिजय गच्छदारलाई ५हजार १सय ८८ मतान्तरले पराजित गरेकी चौधरीले तीन वर्षको अवधिमा करिब सवा अर्बको विकास बजेट ल्याएको बताउनुभयो । ती मध्ये धेरै योजना पुरा भएका,केहि संचालनमा रहेका र केहि अधुरा रहेकाले पूरा गर्ने जिम्मेवारी सुम्पन आग्रह गर्नुभयो ।

अहिले सम्म २ हजार बढिलाई रोजगार दिलाएको जानकारी गराउदै चौधरीले कम्तिमा ५ हजार युवाहरुलाई आफ्नै घरमा बसेर पैसा कमाउन सक्ने बनाउने योजना सुनाउनुभयो । उहाँले २७५ एकल,दलित,बिपन्न परिवारलाई घर बनाएर हस्तान्तरण गरिसकेको बताउनुभयो । दुई बर्षमा अरु ४ सय बिपन्न परिबारलाई घर बनाइदिने प्रतिबद्धता जनाउनुभयो ।

अन्तरक्रियामा सहभागी बुद्धिजिवीहरुले भगबती चौधरी स्वच्छ छबीको रहेको भन्दै प्रशंसा गरेका छन । उहाँलाई पूरा गर्न नसकिने कुरा नगर्न,अरु उम्मेदवारको आलोचना नगर्न बरु आफूले गरेका कामको जानकारी घर घर पुरयाउन सुझाब दिएका छन । बुद्धिजिबीले हेर्दा सानो तर परिणामुखी काम गर्न सुझाएका छन । एमाले उम्मेदवार चौधरीले प्रतिबद्धता पत्र सार्बजनिक गर्नु अघि बुद्धिजिबी सँग परामर्श गर्नुभएको हो । कार्यक्रममा तीन दर्जन बढी एमाले मात्र नभएर अन्य दलप्रति आस्था राख्ने र स्वतन्त्र बुद्धिजीबीको सहभागिता थियो ।

 

Sarita Karmakar