सिंहदरबार प्रवेशमा कडाइ, कानून व्यवसायीका लागि नयाँ व्यवस्था लागू

बिराटनगर । सरकारले सिंहदरबार प्रवेशलाई व्यवस्थित र सुरक्षित बनाउन नयाँ मापदण्ड लागू गरेको छ। अब नेपाल बार काउन्सिल र नेपाल बार एसोसिएसनको परिचयपत्रका आधारमा मात्र कानून व्यवसायीलाई प्रवेश नदिइने भएको छ।

प्रशासकीय अदालतले सूचना जारी गर्दै अदालतसँग सम्बन्धित काम कारबाहीका लागि सिंहदरबार प्रवेशमा नयाँ व्यवस्था लागू गरिएको जनाएको छ।

सूचना अनुसार अब पदाधिकारी तथा कर्मचारीले सम्बन्धित निकायको आधिकारिक परिचयपत्रका आधारमा प्रवेश पाउनेछन्। त्यस्तै, कानून व्यवसायीले नागरिक एपमार्फत प्राप्त सिंहदरबार गेट पास अनिवार्य रूपमा देखाउनुपर्नेछ।

यसैगरी, मुद्दाका पक्ष वा वारेसले सम्बन्धित तारिख पर्चाको आधारमा प्रवेश गर्न पाउने व्यवस्था गरिएको छ भने अन्य आगन्तुक तथा सरोकारवालाले प्रशासकीय अदालतबाट जारी दैनिक इ–पासका आधारमा मात्र प्रवेश पाउनेछन्।

सरकारले सुरक्षा र व्यवस्थापनलाई थप प्रभावकारी बनाउन यस्तो व्यवस्था गरिएको जनाएको छ।

Sarita Karmakar