अब बैदेशिक रोजगारीमा जाँदा कागज पत्र अनिवार्य

काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका लागि विदेश प्रस्थान गर्ने सम्पूर्ण श्रमिकलाई आवश्यक कागजात अनिवार्य रूपमा साथमा लिएर मात्र यात्रा गर्न आग्रह गरेको छ।

विभागले एक विज्ञप्ति जारी गर्दै चैत २९ गतेदेखि लागू हुने गरी गन्तव्य मुलुकसम्मको हवाई टिकट र सो टिकटको बिल वा रसिद अनिवार्य रूपमा साथमा राख्नुपर्ने जनाएको छ। यो व्यवस्था संस्थागत तथा व्यक्तिगत दुवै माध्यमबाट जाने श्रमिकका लागि लागू हुने बताइएको छ।

त्यसैगरी, म्यानपावर कम्पनी (इजाजतपत्र प्राप्त संस्था) मार्फत वैदेशिक रोजगारीमा जाने श्रमिकले उक्त संस्थालाई बुझाएको सेवा शुल्कको आधिकारिक रसिद पनि साथमा राख्नुपर्ने विभागले स्पष्ट पारेको छ।

विभागले सबै इजाजतपत्र प्राप्त संस्थालाई श्रमिकबाट लिएको सेवा शुल्कबापतको भौचर, रसिद तथा भरपाइ अनिवार्य रूपमा उपलब्ध गराउन निर्देशन दिएको छ।

श्रमिकलाई अनावश्यक समस्या नहोस् भन्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको विभागले जनाएको छ।

Sarita Karmakar