ओली–लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ सकियो, आजै आदेश आउने सम्भावना

बिराटनगर । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली तथा पूर्व गृहमन्त्री रमेश लेखक सम्बन्धी बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ सम्पन्न भएको छ।

सर्वोच्च अदालत का न्यायाधीश विनोद शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा सोमबार भएको सुनुवाइमा सरकार पक्षले बहस गरेपछि निवेदक पक्षले जवाफी बहस प्रस्तुत गरेका थिए।

सुनुवाइ सकिएसँगै उक्त मुद्दामा आजै आदेश आउने सम्भावना रहेको बताइएको छ। यसअघि आइतबार समय अभावका कारण मुद्दा ‘हेर्दा हेर्दै’ मा राखिएको थियो।

अध्यक्ष ओलीकी पत्नी राधिका शाक्य र नेता लेखककी पत्नी यशोदा लेखकले चैत १५ गते दायर गरेको रिटमा दुवैलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै थुनामुक्त गर्न माग गरिएको छ।

रिट निवेदनमा भदौ २३ र २४ गतेका घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनको सिफारिसका आधारमा गरिएको पक्राउ र थुनालाई गैरकानुनी भनिएको छ।

यसअघि न्यायाधीश मेघराज पोखरेलको इजलासले ओली र न्यायाधीश कुमार रेग्मीको इजलासले लेखकको हकमा चैत १६ गते कारण देखाउ आदेश जारी गरेका थिए।

Sarita Karmakar