दाइजो प्रथा र बेरोजगारी अन्त्य गर्न सांसद रुवी कुमारीको माग
विराटनगर । श्रम संस्कृति पार्टीकी सांसद रुवी कुमारीले दाइजो प्रथा र बेरोजगारी समस्यालाई गम्भीर रूपमा उठाउँदै यसको अन्त्यका लागि ठोस कदम चाल्न सरकारसँग माग गरेकी छन्।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले दाइजो प्रथाका कारण विशेष गरी महिलाहरू पीडित भइरहेको बताइन्। दाइजोका कारण महिलाहरूले हिंसा सहनु परेको र कतिपय अवस्थामा ज्यान गुमाउनुपर्ने अवस्था सिर्जना भएको उल्लेख गर्दै उनले दाइजोमुक्त समाज निर्माणको आवश्यकता औंल्याइन्।
उनले भनिन्, “देश तथा प्रदेशमा अहिले दाइजोका कारण धेरै जनताहरू, विशेष गरी महिलाहरू पीडित छन्। दाइजोका कारण महिलाहरू मर्न बाध्य भएका छन्। त्यसैले दाइजोमुक्त समाज आजको आवश्यकता हो।”
सांसद कुमारीले मधेस प्रदेशमा युवाहरूको बेरोजगारी अवस्था अत्यन्त जटिल रहेको पनि बताइन्। रोजगारीका अवसर अभावले युवाहरू निराश बनेको उल्लेख गर्दै उनले सरकारले यसतर्फ गम्भीर ध्यान दिनुपर्ने बताइन्।
यस्तै, उनले कृषकहरूको अवस्था पनि चिन्ताजनक रहेको बताउँदै सिँचाइका लागि पर्याप्त पानीको व्यवस्था गर्नुपर्नेमा जोड दिइन्। सरकार परिवर्तन भइरहे पनि दाइजो, बेरोजगारी र कृषि क्षेत्रका समस्या अझै समाधान हुन नसकेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराइन्।
