ओली–लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा सरकारी पक्षको दलिल पेस

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली तथा नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री रमेश लेखक को बन्दीप्रत्यक्षीकरण रिटमा सरकारी वकिलले सर्वोच्च अदालतमा आफ्नो दलिल पेस गरेका छन्।

सोमबार सर्वोच्च अदालत मा न्यायाधीश विनोद शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा सुनुवाइ जारी रहँदा नायव महान्यायाधिवक्ता सञ्जिवराज रेग्मीले सरकारका तर्फबाट बहस गरेका हुन्।

रेग्मीले दुवै जनालाई अभियोजनका लागि नभई अनुसन्धानका लागि मात्र पक्राउ गरिएको स्पष्ट पारे। उनले भदौ २३ गतेको घटनाको सन्दर्भ उल्लेख गर्दै जिम्मेवार पदमा रहेका व्यक्तिले बल प्रयोग रोक्नुपर्ने दायित्व पूरा नगरेको आधारमा अनुसन्धान अघि बढाइएको जिकिर गरे।

सरकारी पक्षले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनलाई घटनाको प्रारम्भिक आधारका रूपमा लिएको पनि जनाएको छ। उक्त प्रतिवेदनले अत्यधिक बल प्रयोग भएको र त्यसमा जिम्मेवार व्यक्तिको लापरबाही देखिएको निष्कर्ष निकालेको भन्दै अनुसन्धान आवश्यक रहेको दाबी गरिएको छ।

यसैगरी, रेग्मीले विगतमा सर्वोच्च अदालतले गैरन्यायिक हत्यासम्बन्धी मुद्दामा स्थापित गरेको नजिर प्रस्तुत गर्दै उच्च पदस्थ व्यक्तिहरूमाथि पनि अनुसन्धान गर्न सकिने कानुनी आधार रहेको बताए। उनले अब परम्परागत नभई प्रक्रियागत रूपमा अनुसन्धान अघि बढाइने उल्लेख गरे।

उक्त रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ जारी रहेको छ।

Sarita Karmakar