लागुऔषध मुद्दाका फरार अभियुक्त २३ वर्षपछि पक्राउ
बिराटनगर । लागुऔषध सम्बन्धी मुद्दामा लामो समयदेखि फरार रहेका एक वृद्ध अभियुक्त २३ वर्षपछि पक्राउ परेका छन्।
थवाङ गाउँपालिका–४, थापल खर्क निवासी ८१ वर्षीय कुलबहादुर घर्तिमगरलाई प्रहरीले पक्राउ गरेको हो। उनी विरुद्ध कपिलवस्तु जिल्ला अदालतले वि.सं. २०५९ फागुन १८ गते लागुऔषध मुद्दामा ४ वर्ष कैद र २५ हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो।
सजाय तोकिएपछि फरार रहेका उनलाई हालै पक्राउ गरी आवश्यक कारबाहीका लागि अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ। अदालतको आदेशपछि उनलाई कारागार चलान गरिएको छ।
प्रहरीका अनुसार लामो समयदेखि फरार रहेका अभियुक्तलाई खोजी गर्ने अभियान अन्तर्गत उनलाई पक्राउ गर्न सफल भएको हो।
