विपद् व्यवस्थापनमा पूर्वतयारी सुदृढ गर्न गृहमन्त्रीद्वरा निर्देशन
बिराटनगर । गृहमन्त्री सुधन गुरुङ ले सशस्त्र प्रहरी बललाई विपद् व्यवस्थापनमा पूर्वतयारी सुदृढ गर्न निर्देशन दिएका छन्।
मंगलबार सशस्त्र प्रहरी मुख्यालय हलचोकको निरीक्षणका क्रममा उनले विपद् सुरु हुनुअघि नै आवश्यक सबै तयारी पूरा गर्न जोड दिएका हुन्। उनले विपद्को समयमा आम नागरिकलाई “सरकार साथमै छ” भन्ने अनुभूति दिलाउने गरी काम गर्नुपर्ने बताए।
गृहमन्त्री गुरुङले विपद् उद्धारका लागि दुई वटा हेलिकप्टर तयारी अवस्थामा राख्ने योजना मन्त्रालयले अघि बढाएको जानकारी दिए। साथै, सीमा क्षेत्रमा हुने अवैध चोरीपैठारी तथा तस्करी नियन्त्रणमा कडाइ गरिने उल्लेख गर्दै यस्ता गतिविधिमा संलग्न सशस्त्र प्रहरी कर्मचारी भेटिए कडा कारबाही गरिने चेतावनी दिए।
कार्यसम्पादनका क्रममा सशस्त्र प्रहरीलाई आउने समस्या समाधानका लागि छिट्टै आवश्यक कानुनी व्यवस्था गरिने विश्वास पनि उनले व्यक्त गरे।
कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल ले गृहमन्त्रीको निर्देशनले संगठनलाई अनुशासित र परिणाममुखी काम गर्न थप प्रेरणा मिलेको बताए। त्यस्तै, नायब महानिरीक्षक विष्णुप्रसाद भट्ट ले सशस्त्र प्रहरी बलका गतिविधिबारे प्रस्तुतीकरण गरेका थिए।
