प्रहरी नायब निरीक्षक दिनेश राउत २० हजार घुससहित पक्राउ

बिराटनगर । प्रहरी वृत्त मालीगाउँमा कार्यरत प्रहरी नायब निरीक्षक (सइ) दिनेश राउतलाई २० हजार रुपैयाँ घुस लिँदालिँदै पक्राउ गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग का अनुसार बैंकिङ कसुरसम्बन्धी मुद्दामा जाहेरवालाको रकम फिर्ता दिलाइदिने भन्दै सहजीकरण गरिदिए बापत तथा मुद्दा मिलापत्र गराइदिने प्रयोजनका लागि राउतले सेवाग्राहीसँग घुस मागेका थिए।

आयोगको टोलीले उनलाई आज काठमाडौं महानगरपालिका–५ स्थित गहनापोखरी क्षेत्रबाट घुस रकम लिँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो। पक्राउका क्रममा २० हजार रुपैयाँ नगद र एक थान मोबाइल समेत बरामद गरिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।

घटनाबारे थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।

Sarita Karmakar