‘जेनजी’ आन्दोलनका क्रममा रौतहट कारागारबाट फरार दुई कैदी पक्राउ
विराटनगर । रौतहट कारागारबाट ‘जेनजी’ आन्दोलनका बेला फरार भएका दुई जना कैदीबन्दीलाई प्रहरीले पुनः पक्राउ गरेको छ। सर्लाही र रौतहट प्रहरीले छुट्टाछुट्टै स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ।
पक्राउ पर्नेमा रौतहटको दुर्गाभगवती गाउँपालिका–५, वडहर्वाका २९ वर्षीय दिपेश साह सोनार रहेका छन्। जबरजस्ती करणी मुद्दामा १२ वर्ष कैद सजाय तोकिएका सोनार भदौ २४ गते राति आन्दोलनको मौका छोपी कारागार फुटाएर फरार भएका थिए। उनले हालसम्म ३ वर्ष ९ महिना कैद भुक्तान गरिसकेका थिए। इलाका प्रहरी कार्यालय केशरगन्जको टोलीले उनलाई सर्लाहीको ईश्वरपुर नगरपालिका–६, बयलबासबाट पक्राउ गरी पुनः जिल्ला कारागार कार्यालय रौतहट पठाएको छ।
यसैगरी, चोरी मुद्दाका दोषी गौर नगरपालिका–३ का २४ वर्षीय अफताब अन्सारी पनि पक्राउ परेका छन्। उनलाई विशेष सूचनाका आधारमा रौतहटको गौर–३ पोखरिया टोलबाट नियन्त्रणमा लिइएको हो। जिल्ला अदालत गौरले अन्सारीलाई ४ वर्ष ३ महिना कैद सजाय सुनाएको थियो, जसमध्ये उनले ३ वर्ष १० महिना २७ दिन सजाय भुक्तान गरिसकेका थिए।
प्रहरीका अनुसार ‘जेनजी’ आन्दोलनका क्रममा विभिन्न गम्भीर मुद्दामा दोषी ठहर भई कारागारबाट फरार भएका अझै १२३ जना कैदीबन्दी फरार अवस्थामै रहेका छन्। उनीहरूको खोजी कार्य तीव्र बनाइएको जनाइएको छ।
