लागुऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

बिराटनगर । देशका विभिन्न स्थानबाट प्रहरीले लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ। नियमित गस्तीका क्रममा विभिन्न जिल्लाबाट उनीहरूलाई नियन्त्रणमा लिइएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ।

प्रहरीका अनुसार बझाङको जयपृथ्वी नगरपालिका–९ चिउरीखानबाट खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन्। यस्तै, रूपन्देहीको कञ्चन गाउँपालिका–५ गरगरेस्थित देउराली टोलबाट दुई जना र कैलालीको धनगढी उपमहानगरपालिका–९ ब्राङ्ग्रा कटानबाट एक जनालाई नियन्त्रणमा लिइएको छ।

त्यसैगरी, मोरङको कानेपोखरी गाउँपालिका–६ बाट तीन जना, कञ्चनपुरको बेलौरी नगरपालिका–६ बाट दुई जना र झापाको भद्रपुर नगरपालिका–४ डाँगीबारीबाट दुई जना पक्राउ परेका छन्।

नवलपरासी (पूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२ दुम्कीबास बजारबाट चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने स्पास्मो ८८ ट्याब्लेट र नगद ८ हजार ५०० रुपैयाँसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यस्तै, बाँकेको कोहलपुर नगरपालिका–१५ चौधरिया गाउँबाट डिजिटल तराजुसहित एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

Sarita Karmakar