पीडित तथा एकल महिलालाई रोजगार सिर्जना गर्ने उदेश्य सहित ५५ दिने गार्मेन्ट तालिम

विराटनगर । विराटनगर महानगरपालिका भित्र रहेका पीडित तथा एकल महिलाहरूलाई लक्षित गर्दै रोजगारी सिर्जना गर्ने उद्देश्यसहित ५५ दिने गार्मेन्ट (जुकी मेसिन) तालिम सुरु गरिएको छ। ७५ जना महिलालाई सहभागी गराएर सञ्चालन गरिएको उक्त तालिम एक पाइलट प्रोजेक्टका रूपमा अघि बढाइएको हो।

विराटनगर–६, शनि मन्दिर पश्चिममा अवस्थित फहद अप्रिसल उद्योगमा विराटनगर महानगरपालिकाको समन्वय र ओरेक नेपालको सहकार्यमा तालिम सञ्चालन गरिएको हो। तालिमको उद्घाटन कार्यक्रम आज सम्पन्न भएको छ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्की उपस्थित थिइन्। उनले महानगरपालिका भित्र रहेका महिलाहरूलाई आत्मनिर्भर बनाउने तथा रोजगारीको अवसर सिर्जना गर्ने उद्देश्यले यस्तो कार्यक्रम सुरु गरिएको बताइन्। साथै, तालिम अवधिभर अनुशासन र सहनशीलताका साथ निरन्तर सहभागी हुन आग्रह गर्दै कुनै समस्या परेमा महानगरपालिकामा आएर राख्न पनि अनुरोध गरिन्।

त्यस्तै, फहद अप्रिसल सञ्चालक महोमद नसरुलले स्थानीय महिलाहरूलाई उद्यमी बनाउँदै रोजगारी प्रदान गर्ने लक्ष्यका साथ तालिम सञ्चालन गरिएको जानकारी दिए। आगामी वर्षसम्म करिब ५०० जना महिलालाई रोजगारी उपलब्ध गराउने योजना रहेको उनले बताए।

मुख्य प्रशिक्षक पुनम शर्मासहित ६ जनाको प्रशिक्षक टोलीले सहभागी महिलाहरूलाई तालिम दिनेछन्। तालिम आगामी सोमबारदेखि बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ। सहभागीहरूका लागि खाजा तथा यातायात खर्चको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ।

Sarita Karmakar