आजै साँझ उपसभामुखलाई शपथ खुवाइने, शीतल निवासको तयारी पूरा
विराटनगर । उपसभामुखको शपथग्रहण कार्यक्रम आजै साँझ सम्पन्न हुने भएको छ। राष्ट्रपतिको कार्यालय शीतल निवासका अनुसार साँझ ६ बजेका लागि शपथग्रहणको समय तय गरिएको छ।
यसअघि आजै दिउँसो ४ बजे बस्ने प्रतिनिधि सभाको बैठकले नयाँ उपसभामुख चयन गर्नेछ। चयन प्रक्रिया पूरा भएसँगै निर्वाचित उपसभामुखलाई साँझ नै पद तथा गोपनीयताको शपथ गराइने कार्यक्रम रहेको छ।
उपसभामुख पदका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद सरस्वती लामा र श्रम संस्कृति पार्टीकी सांसद रुवीकुमारी ठाकुरबीच प्रतिस्पर्धा हुने भएको छ।
२७५ सदस्यीय प्रतिनिधिसभामा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बहुमत रहेको छ। रास्वपाले ठाकुरलाई समर्थन गर्ने निर्णय गरिसकेकोले उनको जित लगभग सुनिश्चित देखिएको छ।
शीतल निवासले शपथग्रहण कार्यक्रमका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।
