न्युयोर्कमा ईनिशा बिकका लागि दीप प्रज्वलन, न्यायको माग चर्कियो 

बिराटनगर। सुर्खेतकी १६ वर्षीया ईनिशा बिकको असामयिक निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिरशान्तिको कामना तथा न्यायको मागसहित आज मार्च २१, २०२६ (शनिबार) साँझ ६:३० बजे न्युयोर्कको क्विन्सस्थित डाइभर्सिटी प्लाजा, ज्याक्सन हाइट्समा दीप प्रज्वलन तथा सामूहिक प्रार्थना कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा न्यूयोर्कमा रहेका नेपाली समुदायका विभिन्न सामाजिक अभियन्ता, बुद्धिजीवी, अधिकारकर्मी तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो। सहभागीहरूले हातमा दीप लिएर मौन प्रार्थना गर्दै पीडित परिवारप्रति ऐक्यबद्धता जनाएका थिए।

उक्त कार्यक्रममा NRNA NCC USA का अध्यक्ष सतेन्द्र साह, FIPNA का अध्यक्ष तोरण गुरुङ, समाजसेवी डा. बिष्णु माया परियार, चमेलि परियार, PANAS America का महासचिव डा. शंकर बिसुन्के, विभिन्न सञ्चारकर्मी तथा सयौँ नेपालीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा वक्ताहरूले घटनाको निष्पक्ष, छिटो र पारदर्शी छानबिन गर्न जोड दिँदै दोषीलाई कडा भन्दा कडा कारबाही गर्न माग गरेका थिए। साथै, यस्ता जघन्य अपराधलाई निरुत्साहित गर्न आवश्यक परे कानुन संशोधन गरेर अझ कडा सजाय व्यवस्था गर्नुपर्ने आवाजसमेत उठाइएको थियो।

सहभागीहरूले सरकार तथा सम्बन्धित निकायलाई पीडितलाई न्याय दिलाउन ढिलाइ नगर्न आग्रह गर्दै यस्ता घटनाको पुनरावृत्ति रोक्न ठोस कदम चाल्न अपिल गरेका छन्।

Sarita Karmakar