रास्वपाले प्रत्यक्षतर्फ १०० सिट जित्यो
विराटनगर । प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १०० सिट जित्दै ठूलो सफलता हासिल गरेको छ। हालसम्म १२९ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक हुँदा रास्वपाले सबैभन्दा धेरै १०० सिटमा विजय हासिल गरेको हो।
निर्वाचन परिणामअनुसार दोस्रो स्थानमा नेपाली कांग्रेस रहेको छ। कांग्रेसले १४ सिट जितेको छ भने नेकपा (एमाले) ले ७ सिट र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले ६ सिटमा विजय प्राप्त गरेका छन्। त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र एक स्वतन्त्र उम्मेदवारले एक–एक सिट जितेका छन्।
रास्वपाले सुरुवातदेखि नै धेरै क्षेत्रमा अग्रता कायम राख्दै ठूलो मत अन्तरले जित हासिल गरेको देखिएको छ। यससँगै प्रतिनिधिसभामा रास्वपाको प्रभाव उल्लेखनीय रूपमा बढ्ने अनुमान गरिएको छ।
निर्वाचन आयोगका अनुसार मतगणना प्रक्रिया अझै केही क्षेत्रमा जारी रहेको छ र बाँकी क्षेत्रको नतिजा क्रमशः सार्वजनिक हुने जनाइएको छ।
