मोदीले बालेनलाई शुभकामना दिएको भन्दै भ्रम फैलाउने पक्राउ

बिराटनगर। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहलाई शुभकामना दिएको भन्दै सामाजिक सञ्जालमा भ्रम फैलाएको आरोपमा एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–१६ का नन्दप्रसाद भट्ट रहेका छन्। उनलाई जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले बुधबार भरतपुर–१० बाट नियन्त्रणमा लिएको हो। पक्राउ प्रक्रियामा नेपाल प्रहरी प्रधान कार्यालयको साइबर ब्युरोले प्राविधिक सहयोग गरेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) रबिन्द्र खनालका अनुसार भट्टमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको छ। सामाजिक सञ्जालमार्फत पुष्टि नभएको सूचना प्रसारण गरी सर्वसाधारणमा भ्रम फैलाएको आरोपमा उनलाई नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ।

प्रहरीले यस्ता गतिविधिले सामाजिक सद्भाव र सार्वजनिक विश्वासमा असर पार्न सक्ने भएकाले प्रमाणित नभएका सूचना नफैलाउन सबैलाई आग्रह गरेको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको जनाइएको छ।

Sarita Karmakar