मोरङ–६ मा डा. शेखर कोइरालालाई समर्थन गर्दै विभिन्न दलका उम्मेदवार निष्क्रिय
विराटनगर । मोरङ क्षेत्र नम्बर ६ मा नेपाली कांग्रेसका उम्मेदवार डा शेखर कोइरालालाई समर्थन गर्दै विभिन्न दलका उम्मेदवारले आफूहरू निष्क्रिय बस्ने निर्णय गरेका छन्।
उनीहरूले प्रत्यक्षतर्फ कांग्रेसका उम्मेदवार कोइरालालाई सहयोग गर्ने र समानुपातिकतर्फ भने आफ्नै दललाई मत हाल्ने बताएका छन्।
नागरिक उन्मुक्ति पार्टीका बलराम खवास, जनता समाजवादी पार्टी नेपालका राजु मण्डल र जनमत पार्टीका सुधराम माझी थारुले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै कोइरालाको पक्षमा उभिने निर्णय सार्वजनिक गरेका हुन्।
त्यसैगरी नेपाल मजदुर किसान पार्टीका तिलक राजवंशी, जनता समाजवादी पार्टीका महमद जाविर र जेन्जी समूहका राम खत्रीले निर्वाचन आयोगबाटै आफ्नो उम्मेदवारी फिर्ता लिँदै कोइरालालाई सघाउने प्रतिबद्धता जनाएका छन्।
उनीहरूले वर्तमान राजनीतिक परिस्थितिमा व्यक्तिगतभन्दा लोकतन्त्र र देशको हित महत्वपूर्ण भएको निष्कर्षसहित डा. कोइरालाको जित आवश्यक ठानेर यस्तो निर्णय गरेको बताएका छन्।
मोरङ–६ मा विभिन्न दलका उम्मेदवारहरूबाट प्राप्त यो समर्थनलाई कोइरालाको पक्षमा महत्वपूर्ण राजनीतिक सन्देशका रूपमा हेरिएको छ।
