रामेछापमा निर्वाचन कर्मचारी र सुरक्षाकर्मी सवार गाडी भीरबाट खस्यो
बिराटनगर । प्रतिनिधिसभा निर्वाचनका लागि खटिएका कर्मचारी र सुरक्षाकर्मी सवार गाडी रामेछापमा भीरबाट खसेको छ।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार ना ७ ख ६७६८ नम्बरको गाडी रामेछाप नगरपालिका–२ सिरुबारीबाट करिब १०० मिटर तल खसेको हो। उक्त गाडीमा निर्वाचनमा खटिएका कर्मचारी, मतदान अधिकृत, सुरक्षाकर्मी तथा निर्वाचन सामग्री रहेको जनाइएको छ।
प्रहरीका अनुसार फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मतपेटिका लगायतका सामग्री लिएर मन्थलीबाट रामेछाप नगरपालिका–२ र ३ का मतदान केन्द्रतर्फ जाँदै गर्दा देउराली–सिरुबारी क्षेत्रको भिरबाट गाडी खसेको प्रारम्भिक जानकारी प्राप्त भएको हो।
दुर्घटनामा गाडीमा कति जना सवार थिए भन्ने यकिन भइसकेको छैन। घटनास्थलमा उद्धारका लागि प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।
