ज्ञानेन्द्र बहादुर शाहीद्वारा आर्थिक सहयोगको अपिल

काठमाडौं । पूर्व सांसद तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता, युवा नेता ज्ञानेन्द्र बहादुर शाहीले आसन्न निर्वाचनलाई स्वच्छ, पारदर्शी र जनमुखी बनाउन आर्थिक सहयोगको अपिल गरेका छन्।

उनले जारी गरेको अपिलमा लोकतन्त्रको सुदृढीकरणका लागि स्वच्छ राजनीतिक संस्कार आवश्यक रहेको उल्लेख गर्दै चुनाव जनताको मत र विश्वासमा आधारित हुनुपर्ने धारणा व्यक्त गरेका छन्। “चुनाव लोकतन्त्रको महत्त्वपूर्ण उत्सव हो, जहाँ जनताको मत र विश्वास नै सबैभन्दा ठूलो शक्ति हो,” उनले बताएका छन्।

शाहीले चुनावका क्रममा कालोबजारी गर्ने, दुई नम्बरका कारोबारमा संलग्न हुने तथा अवैध आर्जन गर्ने व्यक्तिहरूसँग सहयोग लिँदा भविष्यमा उनीहरूका गलत गतिविधिमा मौन बस्नुपर्ने अवस्था आउन सक्ने उल्लेख गरेका छन्। उनका अनुसार यस्तो प्रवृत्तिले सुशासन, पारदर्शिता र उत्तरदायित्वमा गम्भीर असर पार्छ।

“हाम्रो स्पष्ट अडान छ—निर्वाचन जनताको सेवा, सुशासन र पारदर्शिताका लागि लडिन्छ, कुनै स्वार्थ समूहको संरक्षणका लागि होइन,” अपिलमा भनिएको छ।

उनले आफ्नो अभियान इमानदार नेतृत्व, उत्तरदायी शासन प्रणाली र जनविश्वासमा आधारित रहेको उल्लेख गर्दै चुनाव जित्नु मात्रै उद्देश्य नभई दीर्घकालीन रूपमा स्वच्छ राजनीति र सुशासनको आधार निर्माण गर्नु मुख्य लक्ष्य रहेको बताएका छन्।

अभियानलाई अझ प्रभावकारी, शुद्ध र पारदर्शी बनाउन सबै शुभेच्छुक, समर्थक तथा आम नागरिकलाई आफ्नो क्षमताअनुसार स्वेच्छिक आर्थिक सहयोग गर्न उनले आग्रह गरेका छन्। “जनताको सानो–सानो सहयोगले नै ठूलो परिवर्तन सम्भव हुन्छ,” उनले भनेका छन्।

स्वच्छ राजनीति, पारदर्शी शासन र जिम्मेवार नेतृत्वका लागि हातेमालो गर्न उनले सबैमा अपिल गरेका छन्। सम्पर्क नं.: +९७७-९७६१७६७३७४

Sarita Karmakar