कांग्रेसले राष्ट्रिय टिमकी कप्तान साम्बाको उपचारका लागि पाँच लाख सहयोग गर्ने

विराटनगर । नेपाली कांग्रेसले राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’को उपचारका लागि पाँच लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।

कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सामाजिक सञ्जालमार्फत अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङलाई फोन गरेर खेलाडी उपचार कोषमा पार्टीका तर्फबाट उक्त रकम उपलब्ध गराउने जानकारी गराएको बताएका छन्।

शर्माले देशको प्रतिष्ठा बढाउन महत्त्वपूर्ण योगदान दिएकी चर्चित फुटबल खेलाडी साम्बाको स्वास्थ्यलाभको कामना गर्दै अहिले उनको साथमा उभिन सबैलाई आग्रह गरेका छन्।

साम्बाले सोमबार सामाजिक सञ्जालमार्फत आफ्नो उपचारका लागि सहयोगको अपिल गरेपछि विभिन्न क्षेत्रबाट सहयोग जुट्न थालेको हो। यस विषयमा एन्फा र सरकारको पहल नदेखिएको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ।

यसअघि काठमाडौं मेडिकल कलेजले नेपालमै उपचार गराउन चाहे निःशुल्क उपचार गरिदिने घोषणा गरिसकेको छ।

त्यस्तै एन्फाका पूर्वअध्यक्ष तथा पूर्वकप्तान गणेश थापाले ५० हजार रुपैयाँ सहयोग गर्ने बताएका छन्।

Sarita Karmakar