अचानक उम्मेदवार बनेका महावीर पुन, अनौठो शैलीमा चुनावी मैदानमा

म्याग्दी । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दी–१ बाट स्वतन्त्र उम्मेदवारका रूपमा महावीर पुन चुनावी मैदानमा उत्रिएका छन्। उम्मेदवारी दर्ता गर्ने समय आउन दुई दिन बाँकी हुँदासम्म चुनाव लड्ने सोचसमेत नबनाएका पुन अन्तिम समयमा आएर उम्मेदवार बनेका हुन्।

निर्वाचन आयोगमा प्रधानमन्त्री र मन्त्रीहरूको संयुक्त बैठकपछि निर्वाचन आचारसंहिता लागू भएसँगै आफूले शिक्षा क्षेत्रमा अपेक्षित काम गर्न नसक्ने निष्कर्षमा पुगेपछि उनले मन्त्री पद छाडेर उम्मेदवारी दिएको जनाइएको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रहँदा शिक्षासम्बन्धी कानुन निर्माण गर्ने योजना भए पनि काम अघि बढ्न नसकेपछि उनी म्याग्दी फर्किएर चुनावी प्रतिस्पर्धामा होमिएका हुन्।

२०११ सालमा म्याग्दीमा जन्मिएका ७१ वर्षीय पुनले करिब १३ वर्ष शिक्षण पेसामा बिताएका थिए। त्यसपछि उच्च शिक्षाका लागि अमेरिका पुगेका उनले युनिभर्सिटी अफ नेब्रास्का कर्नीबाट शिक्षाशास्त्रमा स्नातकोत्तर गरेका छन्।

विज्ञान तथा प्रविधि क्षेत्रमा महत्वपूर्ण योगदान दिएका पुनले म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका दुर्गम बस्तीमा दुई दशकअघि नै ताररहित इन्टरनेट सेवा विस्तार गरेका थिए। त्यतिबेला सुगम सहरमा समेत इन्टरनेट नपुगेको अवस्थामा ग्रामीण क्षेत्रमा सूचना प्रविधि पुर्‍याएको उनको कामलाई उदाहरणीय मानिन्छ।

उक्त योगदानकै कदरस्वरूप उनले सन् २००७ मा प्रतिष्ठित रोमन म्यागासेसे पुरस्कार प्राप्त गरेका थिए।

पुनको उम्मेदवारीलाई परम्परागत राजनीतिक शैलीभन्दा फरक र विकास तथा प्रविधिमुखी अभियानका रूपमा हेरिएको छ।

Sarita Karmakar