निर्वाचनमा खटिने मतदान अधिकृतलाई तालिम सुरु
बिराटनगर । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी अन्तर्गत मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाई तालिम दिन सुरु गरिएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले सोमबारदेखि तनहुँ क्षेत्र नम्बर १ र २ का मतदानस्थलमा खटिने कर्मचारीलाई तालिम प्रदान गर्न थालेको हो।
जिल्ला निर्वाचन अधिकारी विकास लम्सालका अनुसार पहिलो दिन क्षेत्र नम्बर १ अन्तर्गत रहेका ६९ मतदानस्थलका १५३ मतदान केन्द्रमा खटिने कर्मचारीलाई प्रशिक्षण दिइएको छ। क्षेत्र नम्बर २ का ७५ मतदानस्थलका १५६ मतदान केन्द्रका कर्मचारीलाई मङ्गलबार तालिम दिइने कार्यक्रम रहेको छ।
मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद उपाध्यायले निर्वाचनलाई भयरहित, स्वच्छ र निष्पक्ष वातावरणमा सम्पन्न गराउन इमानदारीपूर्वक काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन्। उनले सुरक्षा व्यवस्था मजबुत बनाइने उल्लेख गर्दै ढुक्क भएर खटिन तथा मतदातालाई निर्धक्क भई मतदान गर्न सहयोग गर्न आग्रह गरे।
यस्तै, मुस्ताङमा पनि निर्वाचन लक्षित अभिमुखीकरण तालिम सञ्चालन गरिएको छ। जिल्ला निर्वाचन कार्यालयको आयोजनामा ४० वटै मतदान केन्द्र र एक अस्थायी मतदान केन्द्रमा खटिने मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाई एकदिने तालिम दिइएको कार्यालय प्रमुख लोकेन्द्र ज्ञवालीले जानकारी दिए। प्रमुख जिल्ला अधिकारी अजिता शर्माले लोकतन्त्र सुदृढीकरणका लागि निर्वाचन शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गर्न सबै पक्षको समन्वय आवश्यक रहेको बताइन्।
त्यसैगरी, रौतहटमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि खटिने एक हजार ८२ जना कर्मचारीलाई तालिम प्रदान गरिएको छ। जिल्ला निर्वाचन कार्यालयका प्रमुख छोटेलाल दासका अनुसार विभिन्न निर्वाचन क्षेत्रका मतदान केन्द्रमा खटिने कर्मचारीलाई चरणबद्ध रूपमा मतदान प्रक्रिया, कानुनी व्यवस्था तथा व्यावहारिक पक्षबारे प्रशिक्षण दिइएको हो।
आसन्न निर्वाचनलाई लक्षित गर्दै देशभर चुनावी तयारी तीव्र पारिएको निर्वाचन कार्यालयहरूले जनाएका छन्।
