धादिङ बस दुर्घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा

विराटनगर । गृहमन्त्री ओमप्रकाश अर्याल धादिङमा भएको बस दुर्घटनाका घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिन अस्पताल पुगेका छन्।

सोमबार अपराह्न गृहमन्त्री अर्याल कलंकीस्थित नेपाल नेशनल अस्पताल र राष्ट्रिय ट्रमा सेन्टर पुगेर उपचाररत घाइतेहरूलाई भेटेका हुन्। उनले चिकित्सकसँग उपचारको अवस्थाबारे जानकारी लिँदै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका थिए।

दुर्घटनामा परी १९ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्। घाइतेहरूको उद्धार गरी हाल कलंकीस्थित नेपाल नेशनल अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर तथा धादिङका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

अस्पताल भ्रमणका क्रममा गृहमन्त्री अर्यालले उपचारमा कुनै कमी हुन नदिने सरकारको प्रतिबद्धता व्यक्त गर्दै दुर्घटनाको छिटो छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याइने बताए। दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा पाँच सदस्यीय छानबिन कार्यदल गठन गरिएको छ।

पृथ्वी राजमार्गअन्तर्गत पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको ग २ ख १४२१ नम्बरको यात्रुबाहक बस राति १ः३० बजे धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भंसेगौडा नजिक त्रिशूली नदी किनारमा खसेर दुर्घटनाग्रस्त भएको थियो।

गृहमन्त्री अर्यालसँगै गृह मन्त्रालयका उच्च अधिकारी, स्वास्थ्य मन्त्रालयका प्रतिनिधि तथा सुरक्षा निकायका प्रमुखहरू पनि अस्पताल पुगेका थिए।

Sarita Karmakar