नेपालको केही स्थानमा हिमपात र वर्षा हुने सम्भावना

विराटनगर। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखा का अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली रही अन्य अधिकांश क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ।

महाशाखाले आइतबार (फागुन १०) दिउँसो तराईका केही स्थानमा बिहानको समयमा हुस्सु लाग्ने जनाएको छ। देशका हिमाली भू-भागमा सामान्यतया बदली रहनेछ भने पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।

कोसी, गण्डकी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थान र अन्य प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

आज राति पनि तराईका केही स्थानमा तुवाँलो लाग्नेछ। कोसी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सफा रहने महाशाखाले जनाएको छ। साथै, कोसी, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

महाशाखाले हुस्सु, तुवाँलो तथा हिमपातको पूर्वानुमान गरिएका क्षेत्रका बासिन्दा र ती क्षेत्रमा यात्रा गर्नेहरूलाई आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।

Sarita Karmakar