जेन–जी आन्दोलनका घाइते पवन शाही पाँच महिनापछि गृहजिल्ला कालीकोट फर्किए

बिराटनगर । जेन–जी आन्दोलनका घाइते पवन शाही पाँच महिनापछि गृहजिल्ला कालीकोट फर्कि

जेन–जी आन्दोलनका क्रममा गोली लागेर घाइते भएका कालीकोट खाँडाचक्र नगरपालिका–१ का २५ वर्षीय पवन शाहीलाई गृहजिल्लामा भव्य स्वागत गरिएको छ।

गत भदौ २३ गते काठमाडौंमा भएको जेन–जी आन्दोलनका क्रममा पेट र पाखुरामा गोली लागेर घाइते भएका शाहीले काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार गराएका थिए। करिब पाँच महिनाको उपचारपछि शुक्रबार उनी सुर्खेत हुँदै कालीकोटको सदरमुकाम मान्म पुगेका हुन्।

मान्म पुगेपछि स्थानीयवासी, आफन्त, राजनीतिक दलका नेता तथा कार्यकर्ताले बाजागाजा, फूलमाला, खादा र अबिरसहित उनको स्वागत गरेका थिए। मान्म बजारमा आयोजित स्वागत कार्यक्रममा स्थानीयले शाहीको स्वास्थ्यलाभको कामना गर्दै खुसी साटासाट गरेका थिए।

फुटबल खेलाडीसमेत रहेका शाही आन्दोलनका क्रममा गम्भीर घाइते भएपछि लामो समय उपचाररत रहेका थिए। घर फर्किएपछि उनले आफूलाई साथ, सहयोग र हौसला प्रदान गर्ने सबैप्रति आभार व्यक्त गरेका छन्।

यसैबीच, जेन–जी आन्दोलनका घाइते शाहीलाई राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसदको बन्दसूचीमा समावेश गरेको छ। पार्टीको यो निर्णयलाई आन्दोलनमा घाइते भएका युवाप्रति गरिएको सम्मानका रूपमा हेरिएको छ।

Sarita Karmakar