विराटनगर भन्सारद्वारा चैतमा लक्ष्यअनुसार राजस्व सङ्कलन

विराटनगर । विराटनगर भन्सार कार्यालयले चालु आर्थिक वर्षको चैत महिनामा लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न सफल भएको छ।

कार्यालयका अनुसार चैतका लागि ३ अर्ब ५३ करोड २३ लाख रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य निर्धारण गरिएको थियो। उक्त अवधिमा लक्ष्यभन्दा केही बढी, ३ अर्ब ५६ करोड १५ लाख रुपैयाँ राजस्व सङ्कलन भएको जनाएको छ।

विगत दुई वर्षदेखि लक्ष्यअनुसार राजस्व उठाउन नसकेको भन्सारले चालु आर्थिक वर्षमा भने सुधार देखाएको छ। लक्ष्य घटाइनु र आन्तरिक अर्थतन्त्रमा क्रमशः सुधारका सङ्केत देखिन थालेपछि राजस्व सङ्कलनमा वृद्धि हुन थालेको कार्यालयको भनाइ छ।

भन्सार कार्यालयले माघ महिनादेखि निरन्तर लक्ष्य भेट्टाउन थालेको जनाएको छ। यद्यपि, निर्वाचनका कारण नेपाल–भारत सीमा तीन दिन बन्द हुँदा फागुनमा लक्ष्यभन्दा केही कम, ३ अर्ब ४ करोड ८६ लाख रुपैयाँ (९५.६३ प्रतिशत) मात्र राजस्व सङ्कलन भएको थियो।

त्यसअघि माघ महिनामा ३ अर्ब २३ करोड ६१ लाख रुपैयाँ लक्ष्य राखिएकोमा ३ अर्ब २९ करोड ८६ लाख रुपैयाँ सङ्कलन भएको थियो।

चालु आर्थिक वर्षका ९ महिनामध्ये सबैभन्दा कम राजस्व कार्तिकमा सङ्कलन भएको थियो। सो महिनामा ३ अर्ब ५६ करोड ५८ लाख रुपैयाँ लक्ष्य रहे पनि १ अर्ब ९८ करोड ४६ लाख रुपैयाँ मात्र उठेको थियो।

अन्य महिनामा साउनमा ७८.१४ प्रतिशत, भदौमा २ अर्ब ८० करोड ११ लाख, असोजमा २ अर्ब ८७ करोड ११ लाख, मङ्सिरमा २ अर्ब ६० करोड ८७ लाख र पुसमा ३ अर्ब ७४ लाख रुपैयाँ राजस्व सङ्कलन भएको तथ्याङ्क छ।

कुल मिलाएर चालु आर्थिक वर्षको ९ महिनामा विराटनगर भन्सार कार्यालयले २५ अर्ब ८२ करोड ९६ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको जनाएको छ।

Sarita Karmakar