मछिन्द्रलाई पराजित गर्दै युवा समाज इटहरी गोल्डकपको उपाधी नजिक
सुनसरी। साबिक बिजेता मछिन्द्र फुटबल क्लबलाई पराजित गर्दै युवा समाज मोरङ १६ औं संस्करणको अन्तराष्टिय आमन्त्रण इटहरी गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
शुक्रबारराती सम्पन्न पहिलो सेमीफाइनल खेलमा युवा समाज मोरङले मछिन्द्रलाई सडेनडेथमा ५—४ गोल अन्तरले पराजित गर्दै फाइनल पुग्ने पहिलो टोली बनेको हो । निर्धारित समयमा दुबै टिमले ३—३ गोलको बराबरी खेलेपछी खेलको निर्णय सिधै पेनाल्टी सुटआउटबाट लिइएको हो । पेनाल्टीमा पनि दुबै टिमबाट ४—४ गोल भएपछी खेल सडेनडेथमा गएको हो । सडेनडेथमा मछिन्द्रका युवराज ढकालले गोल गर्न सकेनन ।
त्यसपछी निर्णायक प्रहार गर्न आएका पदम भटराईले गोल गरेपछी युवा समाज उपाधी नजिक पुगेको हो । त्यसअघिको पेनाल्टीमा मछिन्द्रका रोहित चन्द, दिपेश गुरुङ, देबेन्द्र तामाङ र तुसार बिश्वकर्माले गोल गर्दा सनिस श्रेष्ठको प्रहार पोलमा लागेर बाहिरिएको थियो । युवा समाजका रामचन्द्र वाजी, बिशाल तामाङ, शिशिर लेखी र सृजनराज गौतमले गोल गर्दा कप्तान सुजन चौधरीको प्रहार गोल पोष्टमा लागेर फर्किएको थियो ।
त्यसअघिको निर्धारित समयको १३ औ मिनेटमा मछिन्द्रका प्रदिप बुढाथोकीले गोल गरेर टिमलाई सुरुवाती अग्रता दिलाएका थिए । सौरब लिम्बुले प्रहार गरेको कर्णर बललाई उनले हेड मार्फत गोल गरेका थिए । १६ औं मिनेटमा प्रदिपलेनै थप अर्को गोल गरेपछी मछिन्द्रले २—० को अग्रता लिएको थियो । गोलकिपर प्रमञ्जय गच्छदार अघि बढेको मौकामा उनले प्रहार गरेको बल गोलपोष्टको लाइनमै रहेका बिपक्षी डिफेण्डरले क्लियर गर्न नसक्दा मछिन्द्रले अग्रता दोब्बर बनाएको थियो ।
खेलको २२ औं मिनेटमा युवा समाजका जन्मजय धामीले गोल फर्काएपछी खेल २—१ को अवस्थामा आयो । पदम भटराईले दिएको पासलाई कमजोर डिफेन्सलाइनको फाइदा उठाउदै धामीले बललाई पोष्टको दिसा दिएका थिए । पहिलो हाफको अन्तिम तीन मिनेटको अतिरिक्त समयमा युवा समाजका सुजन डंगोलले गोल गरेपछी खेल २—२ को बराबरीको अवस्थामा आयो । सृजनराज गौतमले दिएको लामो पासलाई डंगोलले आकर्षक हेड गोल गरे । पहिलो हाफ २—२ गोलको बराबरीमा सकिए पनि दोस्रो हाफको २४ औं मिनेटमा पदम भटराईले गोल गरेपछी मोरङको टोली ३—२ को अग्रतामा लिदै खेलमा पुनरनगमन गर्यो । तर अन्तिम चार मिनेट सम्हालिन नसक्दा युवा समाजले जीतका लागि पेनाल्टी सुटआउट हुदै सडेनडेथसम्म कुर्नुपर्यो ।
दोस्रो हाफको अन्तिम ४ मिनेटको अतिरिक्त समयमा देबेन्द्र तामाङले गोल फर्काएपछी खेल ३—३ को बराबरीमा आयो । त्यसपछी खेलको निर्णय पेनाल्टी सुटआउट हुदै सडेनडेथमा पुगेको हो । खेलको प्लेयरअफद म्याच पदम भटराई घोषित हुदै नगद १० हजार हात पार्न सफल भए । शनिबारको अन्तिम सेमिफाइनल खेलमा सातदोबाटो युथ क्लब ललितपुर र प्लानिङ ब्वाइज काडमाण्डौबिच खेल हुनेछ ।
राष्टिय जागृती क्लबले आयोजना गरेको खेलको फाइनल बिजेताले नगद १० लाख र उपबिजेताले ५ लाख रुपैया पुरस्कार पाउनेछ । फाइनल खेल बैशाख ७ गते हुनेछ ।
