देशका विभिन्न स्थानबाट लागूऔषधसहित १३ जना पक्राउ
बिराटनगर । नियमित गस्तीमा खटिएको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित १३ जनालाई पक्राउ गरेको छ। उनीहरू बुधबार नियन्त्रणमा लिइएको नेपाल प्रहरीले जनाएको छ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौं महानगरपालिका–१२ टेकु ब्रह्मटोलबाट चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने ५६० ट्रामाडोल ट्याब्लेटसहित एक जनालाई पक्राउ गरिएको छ। यस्तै, ललितपुर महानगरपालिका–३ कृष्णगल्लीबाट २६७ ट्रामाडोल ट्याब्लेटसहित दुई जना पक्राउ परेका छन्।
सुनसरीको बराहक्षेत्र नगरपालिका–३ स्थित कालिन्द्र सामुदायिक वनबाट एक हजार ६१० ट्रामाडोल ट्याब्लेटसहित दुई जना र हेटौँडा उपमहानगरपालिका–१० न्युरेनीबाट ट्रामाडोलसहित एक जना पक्राउ परेका छन्।
यसैगरी, बाँकेको खजुरा गाउँपालिका–२ बाट ब्राउन सुगरसहित दुई जना, कैलालीको धनगढी उपमहानगरपालिका–८ धनगढीगाउँबाट खैरो हेरोइनसहित एक जना, तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट एक जना, विराटनगर महानगरपालिका–१५ दुई नम्बर ढाटबाट एक जना र कपिलवस्तुको शिवराज नगरपालिका–६ वीरपुरबाट दुई जना नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पक्राउ परेकामाथि आवश्यक अनुसन्धान तथा कानुनी कारबाही प्रक्रिया अगाडि बढाइएको छ।
