खुकुरी प्रहारबाट छिमेकीको हत्या, आरोपी पक्राउ
बिराटनगर । उदयपुरको चौदण्डीगढी नगरपालिका–७ बेलटारमा आइतबार साँझ एक वृद्धले खुकुरी प्रहार गरी छिमेकीको हत्या गरेका छन्। बेलटार बजारस्थित सीतापाइला टोलका रामप्रसाद राईले धारिलो हतियार खुकुरी प्रहार गर्दा छिमेकी महाशेर राईको ज्यान गएको हो।
प्रहरीका अनुसार सामान्य घरायसी विवादका क्रममा आवेशमा आएका ७३ वर्षीय रामप्रसादले ६४ वर्षीय महाशेरमाथि खुकुरी प्रहार गरेका थिए। प्रहारबाट महाशेरको छातीको दाहिने माथिल्लो भागमा गहिरो चोट लागेको थियो। घाइते अवस्थामै उनलाई स्थानीयले उद्धार गरी नगर अस्पताल पुर्याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
घटनापछि इलाका प्रहरी कार्यालय बेलटारका प्रमुख इन्स्पेक्टर प्रभात लक्सम लिम्बुको नेतृत्वमा पुगेको प्रहरी टोलीले घटनास्थलको सर्जमिन मुचुल्का तयार पार्दै कानुनी प्रक्रिया अघि बढाएको छ। मृतकको शव पोस्टमार्टमका लागि अस्पतालमै राखिएको छ।
खुकुरी प्रहार गर्ने रामप्रसाद राईलाई प्रहरीले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बेलटारको हिरासतमा राखेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता डिएसपी निरञ्जन थापाले जानकारी दिएका छन्।
