प्रधानमन्त्री बालेन शाहसहित नेतामाथि अपमानजनक सामग्री बनाएको आरोपमा युट्युबर पक्राउ
पाँचथर । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलगायत अन्य राजनीतिक नेताहरूमाथि अपमानजनक शब्द प्रयोग गरी सामाजिक सञ्जालमा भिडियो बनाएको आरोपमा एक युट्युबर पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा फाल्गुनन्द गाउँपालिका–७ का रोशन पोखरेल रहेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय पाँचथरको टोलीले शुक्रबार (चैत २६) पक्राउ गरेको हो ।
प्रहरीका अनुसार पोखरेलले फेसबुक, इन्स्टाग्राम र ‘Hades’ नामक युट्युब च्यानलमार्फत आपत्तिजनक सामग्रीसहित भिडियोहरू बनाएको आरोप छ ।
साइबर अपराधसम्बन्धी कसूरमा पक्राउ परेका उनलाई जिल्ला अदालत पाँचथरबाट १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका इन्स्पेक्टर रामचन्द्र शाहले जानकारी दिए ।
