आर्यामा सम्भव भयो जटिल ब्रेन ट्युमरको सफल उपचार गंगाशेरले पाए ‘नयाँ जीवन’
विराटनगर । धनकुटाका ४८ वर्षीय गंगाशेर राईका लागि विगतका केही महिना निकै कष्टकर रहे । टाउको दुख्ने समस्याले सताउनु त छँदै थियो, विस्तारै उनमा एउटा आँखामा पनि समस्या हुँदै गयो । रोगको पहिचान र उपचारको खोजीमा भौँतारिएका राई जब विराटनगरको कञ्चनबारीस्थित आर्या न्यूरो हस्पिटल आइपुगे, तब उनले नयाँ जीवनको आशा फेला पारे ।
अस्पतालमा स्वास्थ्य परीक्षण गर्दा उनको मस्तिष्कमा जटिल प्रकारको ट्युमर भएको पत्ता लाग्यो । आर्या न्यूरो हस्पिटलका वरिष्ठ न्यूरो सर्जन तथा निर्देशक डा. पंकज राज नेपालको नेतृत्वमा रहेको चिकित्सक टोलीले उनको उपचार सुरु ग¥यो ।
डा. नेपालका अनुसार गंगाशेरको पिट्युटरी ग्ल्याण्ड मा ट्युमर पलाएको थियो, जसलाई चिकित्सा भाषामा ‘जायन्ट पिट्युटरी म्याक्रो एडेनोमा’ भनिन्छ । ‘पिट्युटरी ग्ल्याण्ड हाम्रो शरीरको ‘मास्टर ग्ल्याण्डु हो, जसले शरीरका अन्य सबै ग्रन्थिहरूलाई नियन्त्रण गर्छ,’ डा. नेपालले भने, ‘यो ट्युमर निकै ठूलो भएर मस्तिष्कको माथिल्लो भागसम्म फैलिएको थियो ।’
ट्युमर पलाएको स्थान निकै संवेदनशील थियो । डा. नेपालका अनुसार पिट्युटरी ग्ल्याण्डको ठीक माथि आँखाको दृष्टि दिने ‘अप्टिक नर्भ’ र दुई नसाहरू जोडिने ‘अप्टिक कायाज्म’ हुन्छ । ट्युमरले ती नसाहरूलाई थिचेका कारण गंगाशेरको एउटा आँखामा समस्या हनु थालेको थियो ।
तर, डा. नेपालको टिमले गरेको सफल शल्यक्रियाले चमत्कार गरिदियो । ‘हामीले शल्यक्रियामार्फत सबै ट्युमर निकाल्यौँ, अहिले उहाँको अवस्था निकै राम्रो छ,’ डा. नेपालले भने, ‘सबैभन्दा खुसीको कुरा, ट्युमरले थिचिएर गुमेको आँखाको ज्योति पनि अहिले फर्किएको छ ।’
सफल उपचारपछि सोमबार डिस्चार्ज भएको छ । डिहस्चार्ज हुँदा गंगाशेर राईको मुहारमा अहिले छुट्टै चमक छ । एक हप्ताको अस्पताल बसाइपछि घर फर्कन लागेका उनले आफूले आर्या न्यूरोमा नयाँ जीवन पाएको बताए । ‘टाउको निकै दुख्ने समस्या भएपछि यहाँ आएको थिएँ, सफल उपचार पाएँ,’ हर्षित हुँदै राईले भने, ‘अहिले म पूर्ण रूपमा निको भएको छु र डिस्चार्जको तयारीमा छु । मलाई नयाँ जीवन दिने अस्पताल र डाक्टरसाबहरूप्रति निकै आभारी छु ।’
