गरिब तथा विपन्नका लागि १० प्रतिशत शय्या निःशुल्क राख्न बागमती प्रदेशको निर्देशन

बिराटनगर । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले कानुनअनुसार गरिब तथा विपन्न नागरिकलाई निःशुल्क उपचार उपलब्ध गराउन प्रदेशअन्तर्गतका सबै अस्पताललाई निर्देशन दिएको छ।

मन्त्रालयले प्रदेशभित्र सञ्चालनमा रहेका अस्पतालहरूलाई कूल शय्याको कम्तीमा १० प्रतिशत शय्या गरिब तथा विपन्न बिरामीका लागि निःशुल्क छुट्याउन भनेको हो।

मंगलबार स्वास्थ्यमन्त्री किरण थापामगरले प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ अनुसार उक्त व्यवस्था तत्काल कार्यान्वयन गर्न निर्देशन जारी गरिएको जानकारी दिइन्। उनले कानुनी प्रावधानको अक्षरशः पालना नगर्ने अस्पताललाई कारबाही गरिने चेतावनीसमेत दिइन्।

मन्त्रालयका अनुसार सोमबार नै प्रदेशका १३ जिल्लाभित्र सञ्चालनमा रहेका निजी तथा गैरसरकारी संस्थामार्फत सञ्चालित अस्पताल तथा स्वास्थ्य संस्थालाई उक्त निर्देशन पठाइएको हो।

बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा. सुमित्रा गौतमका अनुसार स्वास्थ्य सेवा ऐनअनुसार प्रत्येक अस्पतालले सामाजिक सेवा एकाइ स्थापना गरी बेवारिसे, अति गरिब, विपन्न, अपाङ्गता भएका तथा असहाय व्यक्तिलाई निःशुल्क सेवा उपलब्ध गराउनुपर्नेछ। यस्तो सेवाअन्तर्गत कूल शय्या सङ्ख्याको कम्तीमा १० प्रतिशत शय्या अनिवार्य रूपमा छुट्याउनुपर्ने व्यवस्था रहेको उनले बताइन्।

Sarita Karmakar