राष्ट्रिय सभा उपाध्यक्षमा सर्वसम्मत चयन हुँदै लिला भण्डारी
काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्ष पदमा लिला भण्डारी सर्वसम्मत रूपमा चयन हुने भएकी छन्। राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलहरूबीच भएको सहमतिअनुसार नेकपा एमालेकी भण्डारीलाई उक्त पदका लागि अघि बढाइएको हो।
सहमति अनुसार भण्डारीले आज उपाध्यक्ष पदका लागि मनोनयन दर्ता गरिरहेकी छन्। प्रमुख दलहरूबीच पद बाँडफाँटमा सहमति जुटेपछि उनको चयन सर्वसम्मत हुने लगभग निश्चित भएको छ।
नेकपा एमाले संसदीय दलका नेता प्रेमप्रसाद दंगाल ले दलहरूबीच भएको सहमतिअनुसार भण्डारीलाई उपाध्यक्ष पदमा प्रस्ताव गरिएको जानकारी दिए। उनले अन्य दलहरूले समिति सभापति लगायतका पदहरू लिने सहमति भएको पनि स्पष्ट पारे।
राष्ट्रिय सभामा सहमतिका आधारमा नेतृत्व चयन हुने परिपाटीअनुसार यसपटक पनि दलहरूबीच सहकार्य देखिएको छ। भण्डारीको चयनसँगै राष्ट्रिय सभा उपाध्यक्ष पद लामो समयपछि पूर्ण हुने अपेक्षा गरिएको छ।
