पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव : देशभर बदली, वर्षा र हिमपातको सम्भावना

विराटनगर। हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव कायम रहँदा मौसम बदली भएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ।

महाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात भइरहेको छ।

आज दिउँसो देशका हिमाली र पहाडी भूभागमा सामान्य बदली रहनेछ भने अन्य भूभागमा आंशिक बदली रहने जनाइएको छ। पहाडी तथा हिमाली क्षेत्रमा केही स्थानमा मेघगर्जन, चट्याङ, असिना र हुरीबताससहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

त्यसैगरी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थान तथा अन्य तराई क्षेत्रमा एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने अनुमान गरिएको छ। मधेस तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागमा हुरीबतास चल्ने सम्भावना समेत रहेको छ।

आज राति भने हिमाली क्षेत्रमा सामान्य बदली रहने, पहाडी क्षेत्रमा आंशिक बदली हुने र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

रातिको समयमा पनि कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका केही स्थान तथा बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्र र कोशी तथा गण्डकीका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ। साथै, मधेस र कोशी प्रदेशका तराई क्षेत्रमा हुरीबतास चल्ने सम्भावना रहेको जनाइएको छ।

Sarita Karmakar