३६ वर्षसम्म हत्कडी सुरक्षाकर्मीलाई लगाइदिएको रहेछ; गृहमन्त्री गुरुङ
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ ले नेपाल प्रहरीलाई लामो समयसम्म निष्पक्ष रूपमा काम गर्न नदिइएको बताएका छन्। आइतबार बिहान सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले विगत ३६ वर्षसम्म सुरक्षाकर्मीमाथि नियन्त्रणको अवस्था रहेको संकेत गरेका हुन्।
उनले फेसबुकमा लेखेका छन्, ‘३६ वर्षसम्म हतकडी सुरक्षाकर्मीलाई लगाइदिएको रहेछ।’
गृहमन्त्री गुरुङले आफ्नो कार्यकाल सुरु भएदेखि नै प्रहरीलाई स्वतन्त्र रूपमा काम गर्न वातावरण बनाइएको दाबी गरेका छन्। पछिल्लो समय प्रहरीद्वारा ठूला भ्रष्टाचारका मुद्दाहरूमा अनुसन्धान अघि बढाइएको पनि उनले उल्लेख गरेका छन्।
उनकै निर्देशनमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका थिए। त्यसपछि पनि राजनीतिक तथा व्यावसायिक क्षेत्रका प्रभावशाली व्यक्तिहरूमाथि कारबाही जारी रहेको छ।
अहिलेसम्म १० जना ‘भिभिआइपी’ स्तरका व्यक्तिहरू पक्राउ परिसकेको जनाइएको छ।
