संसदमा सोती घटना: दलितमाथि अत्याचार रोक्न कडा कदम चाल्न सांसद सुनारको माग
बिराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले रुकुम पश्चिमको सोती घटनालाई पुनः स्मरण गर्दै दलित समुदायमाथि भइरहेका अत्याचारप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले २०७७ जेठ १० गते जाजरकोटका नवराज विश्वकर्मासहित ६ जना युवाको अन्तरजातीय प्रेम सम्बन्धका कारण भएको निर्मम हत्या नेपालको इतिहासमै भयावह र दुर्लभ घटना भएको बताए।
उनले भने, “सात वर्षअघि रुकुमको सोतीमा भएको घटना सामान्य विवाद थिएन, जातीय आधारमा गरिएको क्रूर हिंसा थियो।”
उक्त घटनामा नवराज विक विवाहका लागि रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती पुगेका बेला स्थानीयले लखेट्दा ६ जनाको ज्यान गएको थियो भने १२ जना घाइते भएका थिए। मृतकहरूको शव भेरी नदीमा भेटिएको थियो।
सांसद सुनारले पछिल्ला दिनमा पनि दलित समुदायमाथि हिंसा र विभेद जारी रहेको उल्लेख गरे। उनले सुर्खेतमा इनिशा विकको बलात्कारपछि हत्या भएको घटना तथा काभ्रेको पाँचखालमा आठ वर्षअघि हत्या गरिएका अजित मियाँको शव अझै टिचिङ अस्पतालको मुर्दाघरमै रहेको विषय उठाए।
उनले दलित समुदायको पीडा चित्रण गर्दै भने, “दलित उतापट्टि लास बनेर बसेको छ, जिउँदो दलित यतापट्टि दास बनेर बसेको छ।”
सांसद सुनारले यस्ता अमानवीय घटनाको अन्त्यका लागि राज्यले प्रभावकारी र कडा कदम चाल्नुपर्ने आवश्यकता औंल्याए। साथै, उनले दलित समुदायसँग सरकारले व्यक्त गरेको क्षमायाचनालाई सकारात्मक रूपमा लिँदै धन्यवाद समेत व्यक्त गरे।
