उद्योग वाणिज्य महासंघ कोशीमा राउत पुनः अध्यक्ष
विराटनगर। नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको दोस्रो कार्यकालका लागि राजेन्द्र राउत पुनः अध्यक्षमा निर्वाचित भएका छन्। आइतबार राति विराटनगरमा सम्पन्न महासंघको ८औँ प्रदेशसभाबाट राउत नेतृत्वको प्यानल नै विजयी भएको हो।
अध्यक्ष पदका प्रतिस्पर्धी नवीन रिजाललाई ८४ मतान्तरले पराजित गर्दै राउत दोस्रो पटक नेतृत्वमा आएका हुन्। कुल खसेको मतमध्ये राउतले १४२ मत प्राप्त गर्दा रिजालले ५८ मत मात्रै पाए।
मत परिणामअनुसार वस्तुगततर्फ राउतले ११ मत र रिजालले ६ मत प्राप्त गरे। जिल्ला–नगर संघतर्फ राउतले २४ मत ल्याउँदा रिजालले १३ मत पाए। त्यस्तै, एसोसिएट्सतर्फ राउतले १०७ मत प्राप्त गर्दा रिजाल ३० मतमा सीमित भए।
शिवम् अर्गनाइजेसनका अध्यक्षसमेत रहेका राउत महासंघ कोशीका संस्थापक सदस्य हुन्। उनको कार्यकालमा प्रदेश कार्यालय भवन निर्माण कार्य अघि बढिरहेको छ। उनका प्रतिस्पर्धी रिजाल महासंघका केन्द्रीय सदस्य हुन्।
यसअघि झापामा सम्पन्न निर्वाचनमा राउत निर्विरोध निर्वाचित भएका थिए।
नयाँ कार्यसमितिमा अध्यक्षबाहेक ४ जना पदाधिकारी निर्विरोध निर्वाचित भएका छन्। जिल्ला–नगरतर्फ उपाध्यक्षमा ऋषिराज तिम्सिना, वस्तुगततर्फ उपाध्यक्षमा राजन श्रेष्ठ, एसोसिएट्स उपाध्यक्षमा रविनकुमार दाहाल र कोषाध्यक्षमा श्रवणकुमार अग्रवाल निर्विरोध भएका छन्। उनीहरू सबै राउत समूहका हुन्।
त्यसैगरी, एसोसिएट्स सदस्यमा देवकीनन्दन अग्रवाल र भविशकुमार श्रेष्ठ निर्विरोध निर्वाचित भए। जिल्ला–नगरबाट सदस्यमा कृष्णप्रसाद रिजाल, राजु ढुंगाना राजीव, जयप्रकाश शर्मा, हर्कबहादुर श्रेष्ठ र नवीनकुमार चौधरी निर्वाचित भएका छन्। वस्तुगततर्फबाट सुवास आचार्य र दीपक पाण्डे विजयी भएका छन्।
महासंघ कोशी प्रदेशमा जिल्ला–नगरबाट ३८, वस्तुगतबाट १९ र एसोसिएट्सबाट १४८ गरी कुल २०५ जनाले मतदान गरेका थिए।
