सर्लाहीमा अवैध बाटो प्रयोग गर्दै भारततर्फ जाँदै गरेका दुई थाई नागरिक पक्राउ

सर्लाही ।  सर्लाहीको नेपाल–भारत सीमा क्षेत्रबाट अवैध रूपमा भारततर्फ जाँदै गरेका दुई जना थाइल्यान्डका नागरिकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।

मलंगवा नगरपालिका–९ स्थित पिपलबोट सीमा क्षेत्रबाट सशस्त्र प्रहरी बलको गस्ती टोलीले उनीहरूलाई पक्राउ गरेको हो। सीमा सुरक्षा गुल्म मलंगवाबाट सशस्त्र प्रहरी नायव उपरीक्षक लीला बहादुर कार्कीको कमान्डमा खटिएको टोलीले अवैध बाटो प्रयोग गरी सीमा पार गर्न खोजिरहेका अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ।

पक्राउ पर्नेमा थाइल्यान्ड निवासी ३६ वर्षीया नाथाया विआंग्युन र ४० वर्षीया जुतारात सोंगखानजुन रहेका छन्।

पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीमा बुझाइएको सशस्त्र प्रहरी मलंगवा गुल्मका प्रमुख डिएसपी कार्कीले जानकारी दिएका छन्।

यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Sarita Karmakar