विराटनगर विमानस्थलबाट ३३ तोला चाँदीसहित एक पक्राउ

मोरङ । विराटनगर विमानस्थलबाट काठमाडौँ जाँदै गरेका एक व्यक्तिलाई प्रहरीले करिब ३३ तोला चाँदीसहित पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगर–१ का ४४ वर्षीय आशिष रिजाललाई मंगलबार नियमित चेकजाँचका क्रममा पक्राउ गरिएको हो। उनी चाँदी बोकेर विमानस्थलको मार्ग हुँदै काठमाडौँ जान लागेका थिए।

प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेका अनुसार बरामद चाँदीको मूल्य मंगलबारको बजार दरअनुसार एक लाख ७० हजार रुपैयाँभन्दा बढी रहेको छ। विमानस्थलमा खटिएका प्रहरी नायब निरीक्षक राजेन्द्र तिम्सिनाले चेकजाँचका क्रममा शंका लागेपछि जाँच गर्दा चाँदी फेला परेको जानकारी दिए।

उक्त चाँदीका लागि आवश्यक बिलबिजक वा वैध कागजात प्रस्तुत गर्न नसकेपछि रिजाललाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउ परेका रिजाल श्री एयरलाइन्समार्फत अपराह्न साढे ३ बजे काठमाडौँ जान लागेका थिए। हाल उनलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ।

Sarita Karmakar