सर्लाहीमा शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह अभियान सुरु 

सर्लाही।  शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह २०२६ को अवसरमा सर्लाही जिल्लामा अभियान सुरु गरिएको छ। शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल जिल्ला समिति सर्लाहीको आयोजनामा मलङ्वास्थित शहिद चौकमा कार्यक्रम सम्पन्न भएको हो।

जिल्ला संयोजक तथा कानून अध्येता राजेश पासवानको अगुवाइमा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रका सरोकारवालाहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा एसिया टप प्रधानाध्यापक डा. बिरबन्श बैठा, नागरिक समाजका महासचिव शिवचन्द्र चौधरी, प्रधानाध्यापक सन्तोष कर्ण, बाल कल्याण समाजका अध्यक्ष सुन्दर श्याम राय, नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ सर्लाहीका कार्यक्रम अधिकृत गोबिन्द कुमार पासवान, विद्यार्थी नितेश पंडित, बाल संरक्षण संस्थाका प्रतिनिधि शक्ति सिंह पासवान तथा सामाजिक विकास केन्द्रका प्रतिनिधि राजिब कुमार कुशवाहालगायतको सहभागिता रहेको थियो।

अभियानको मुख्य उद्देश्य स्थानीय, प्रदेश र संघीय सरकार तथा राजनीतिक दललाई सार्वजनिक शिक्षामा सुधार ल्याउन प्रेरित गर्नुका साथै शिक्षा क्षेत्रमा पर्याप्त, दिगो र न्यायपूर्ण वित्तीय लगानी सुनिश्चित गराउन दबाब सिर्जना गर्नु रहेको आयोजकले जनाएको छ।

कार्यक्रममा सहभागी वक्ताहरूले सार्वजनिक शिक्षा प्रणाली सुदृढ बनाउन बजेट वृद्धि, नीतिगत सुधार तथा सबैका लागि गुणस्तरीय शिक्षामा समान पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड दिएका थिए।

Sarita Karmakar