१५/१५ दिनमै तलब: नेपाल दक्षिण एसियामै पहिलो
विराटनगर । नेपाल सरकारले सरकारी कर्मचारीलाई अब प्रत्येक १५ दिनमा तलब दिने नयाँ प्रणाली लागू गर्ने निर्णय गरेको छ। यससँगै अर्धमासिक तलब भुक्तानी प्रणाली अपनाउने दक्षिण एसियाको पहिलो देश नेपाल बनेको छ।
अर्थ मन्त्रालयले मासिक तलब प्रणालीलाई परिवर्तन गर्दै अब कर्मचारीलाई महिनामा दुई पटक तलब उपलब्ध गराउने निर्णय गरेको हो। यसका लागि महालेखा नियन्त्रकको कार्यालयलाई निर्देशन समेत दिइसकेको छ।
प्रशासनविद् तथा पूर्वसचिव गोविन्द कुसुमका अनुसार यस्तो व्यवस्था एसियामै दुर्लभ छ। अमेरिका, क्यानडा र अस्ट्रेलियाजस्ता देशमा भने अर्धमासिक तलब प्रणाली प्रचलनमा रहेको छ।
सरकारको यो कदमले विशेषगरी तल्लो तहका कर्मचारीलाई आर्थिक रूपमा राहत मिल्ने अपेक्षा गरिएको छ। साथै बजारमा नगद प्रवाह बढेर आर्थिक गतिविधि चलायमान हुने विश्वास गरिएको छ।
हालको कानुनी व्यवस्थाअनुसार सरकारी कर्मचारीलाई मासिक रूपमा तलब दिने प्रावधान रहेकाले अब नयाँ प्रणाली कार्यान्वयनका लागि निजामती सेवा ऐनमा संशोधन गर्नुपर्ने हुन्छ। सरकारले संघीय निजामती सेवा ऐनमार्फत यो व्यवस्था समेट्ने तयारी गरिरहेको जनाएको छ।
आगामी दिनमा यो प्रणाली शिक्षक, सेना र प्रहरीमा समेत विस्तार गर्ने योजना सरकारको रहेको छ।
