अनलाइनमार्फत मतदाता नाम दर्ता गर्नेको सङ्ख्या बढ्दो
विराटनगर । राष्ट्रिय परिचयपत्रको नम्बर प्रयोग गरेर अनलाइनमार्फत मतदाता नामावलीमा नाम दर्ता गर्नेको सङ्ख्या उल्लेख्य रूपमा बढेको छ।
निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम पुनः सुरु गरेसँगै राष्ट्रिय परिचयपत्र बनाएका अधिकांश सेवाग्राहीले अनलाइन प्रणाली रोज्न थालेका छन्। जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी दीपेन्द्र कँडेलका अनुसार आवेदन दिएकामध्ये करिब ९० प्रतिशतले अनलाइनबाटै नाम दर्ता गरेका छन्।
उनका अनुसार हालसम्म राष्ट्रिय परिचयपत्रमार्फत ३३५ जनाले अनलाइन दर्ता गराएका छन् भने कार्यालयमा भौतिक रूपमा उपस्थित भई पाँच जनाले नाम दर्ता गराएका छन्। कुल ४४० जनाको नाम मतदाता नामावलीमा थपिएको छ।
मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यलाई प्रभावकारी बनाउन सबै स्थानीय तहलाई पत्राचार गरिएको पनि कार्यालयले जनाएको छ।
यसअघि गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनका क्रममा जिल्लामा ३४ हजार २८० महिला र ३७ हजार ४५९ पुरुष गरी कुल ७१ हजार ७३९ मतदाता कायम रहेका थिए।
