काठमाडौंका प्रजिअ छविलाल रिजाल पक्राउ

बिराटनगर। काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी (प्रजिअ) छविलाल रिजाल पक्राउ परेका छन्। उनलाई प्रहरीले सुविधानगर क्षेत्रबाट नियन्त्रणमा लिएको हो।

गत भदौ २३ र २४ गते ‘जेनजी’ आन्दोलनका क्रममा काठमाडौंको बानेश्वर क्षेत्रमा भएको गोलीकाण्ड र त्यस क्रममा किशोरहरूको ज्यान जाने घटनामा संलग्न रहेको आरोपमा रिजाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उक्त घटनाले त्यतिबेला व्यापक विवाद र आलोचना निम्त्याएको थियो।

यस प्रकरणको छानबिनका लागि गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले रिजाललाई दोषी ठहर गर्दै कारबाही गर्न सरकारलाई सिफारिस गरेको थियो। आयोगको प्रतिवेदनका आधारमा यसअघि नै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक समेत पक्राउ परिसकेका छन्।

प्रहरीका अनुसार रिजालमाथि थप अनुसन्धान भइरहेको छ र घटनासँग सम्बन्धित अन्य पक्षमाथि पनि अनुसन्धान अघि बढाइने जनाइएको छ।

Sarita Karmakar