बालश्रम शोषण आरोपमा प्रदेश सांसद रेखा शर्मा अदालतमा प्रस्तुत

बिराटनगर । लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मा लाई बालिकामाथि श्रम शोषण गरेको आरोपमा म्याद थपका लागि जिल्ला अदालत काठमाडौँमा उपस्थित गराइएको छ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई आइतबार राति धुम्बाराहीबाट पक्राउ गरेको हो। पक्राउपछि आवश्यक अनुसन्धानका लागि सरकारी वकिल कार्यालयमार्फत अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ।

यसअघि काठमाडौँ महानगरपालिकाले २०८१ जेठ १४ गते शर्माको घरबाट एक बालिकाको उद्धार गरेको थियो। सो घटनापछि उनीमाथि बालश्रम शोषणसम्बन्धी आरोप लाग्दै आएको थियो।

तर, उक्त घटनामा महान्यायाधिवक्ता कार्यालयले २०८१ माघ अन्तिम साता मुद्दा नचल्ने निर्णय गरेको थियो। अहिले भने पुनः अनुसन्धान अघि बढाउँदै उनलाई नियन्त्रणमा लिइएको हो।

प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान जारी रहेको छ भने अदालतले म्याद थपबारे निर्णय गर्नेछ।

Sarita Karmakar