इनिसा विक हत्या प्रकरणमा अदालतमा अभियोगपत्र दर्ता
सुर्खेत । १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरिएको घटनामा सरकारी वकिलको कार्यालयले जिल्ला अदालत सुर्खेतमा अभियोगपत्र दर्ता गरेको छ। आइतबार दर्ता गरिएको अभियोगपत्रमा घटनालाई गम्भीर आपराधिक रूपमा प्रस्तुत गरिएको छ।
गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भएकी इनिसा हाल वीरेन्द्रनगर नगरपालिका–१ मा परिवारसँग बस्दै आएकी थिइन्। फागुन २३ गते बिहान ट्युसन पढ्न जाने भन्दै घरबाट निस्किएकी उनी केही घण्टापछि वीरेन्द्रनगर–४ स्थित जनजागरण सामुदायिक वन क्षेत्रमा अचेत अवस्थामा फेला परेकी थिइन्। उनलाई तत्काल प्रदेश अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
घटनापछि प्रहरीले अनुसन्धानका क्रममा एक १६ वर्षीय नाबालकलाई नियन्त्रणमा लिएको थियो। उनले प्रारम्भिक बयानमा मृतकसँग प्रेम सम्बन्ध रहेको बताएका छन्।
यसअघि प्रहरीले घटनालाई एकल करणी (एक जनाद्वारा गरिएको) ठहर गर्दै अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको थियो। तर, सरकारी वकिलले अदालतमा दर्ता गरेको अभियोगपत्रमा भने सामूहिक बलात्कार भएको दाबी गरिएको छ।
