प्रशासनिक सुधारको समर्थनमा राष्ट्रिय परीक्षा बोर्ड कर्मचारी युनियन भंग
बिराटनगर । प्रशासनिक सुधार र मितव्ययिता कायम गर्ने सरकारको नीतिलाई समर्थन जनाउँदै राष्ट्रिय परीक्षा बोर्डमा क्रियाशील कर्मचारी युनियन भंग गरिएको छ।
मन्त्रिपरिषद्को गत चैत १३ गते बसेको बैठकले शासकीय सुधारसम्बन्धी एक सय कार्यसूची स्वीकृत गरेको थियो। उक्त कार्यसूचीको खण्ड (ख) अन्तर्गत बुँदा नम्बर १२ मा प्रशासनिक सुधार, पुनर्संरचना तथा मितव्ययितासम्बन्धी स्पष्ट व्यवस्था गरिएको छ।
सोही निर्णयलाई स्वागत गर्दै राष्ट्रिय परीक्षा बोर्ड कर्मचारी युनियनले आफूलाई औपचारिक रूपमा विघटन गरेको हो।
युनियनका अध्यक्ष राजु ओलियाले आइतबार जारी गरेको सूचनामार्फत युनियन भंग गरिएको जानकारी दिएका हुन्। सूचनामा भनिएको छ, “मन्त्रिपरिषद्बाट स्वीकृत प्रशासनिक सुधार, पुनर्संरचना र मितव्ययिता सम्बन्धी निर्णयलाई स्वागत गर्दै यस कार्यालयमा गठन भएको राष्ट्रिय परीक्षा बोर्ड कर्मचारी युनियन आजकै मितिबाट भंग गरिएको व्यहोरा जानकारीका लागि अनुरोध छ।”
सरकारले अघि बढाएको सुधार कार्यक्रमलाई सघाउने उद्देश्यले युनियनले यस्तो निर्णय गरेको जनाएको छ।
