रवि लामिछाने मुद्दा पूर्ण इजलासमा, अन्तिम कानुनी निष्कर्षको अपेक्षा

काठमाडौं । रवि लामिछाने सम्बन्धी मुद्दा अब सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ। अदालतले उक्त मुद्दालाई गम्भीर प्रकृतिको ठहर गर्दै विस्तृत कानुनी व्याख्या आवश्यक रहेको निष्कर्षसहित पूर्ण इजलासमा पठाउने आदेश दिएको हो।

यसअघि सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमान को संयुक्त इजलासमा मुद्दाको सुनुवाइ भएको थियो। बहस सम्पन्न भएपछि सर्वोच्च प्रशासनले मुद्दा पूर्ण इजलासमा पठाउने निर्णय भएको जानकारी दिएको छ।

पूर्वमहान्यायाधिवक्ता सविता भण्डारी बराल ले केपी शर्मा ओली नेतृत्वको सरकारका बेला लामिछानेविरुद्ध दायर गरिएको सम्पत्ति शुद्धीकरण तथा संगठित अपराधसम्बन्धी मुद्दा फिर्ता गर्ने निर्णय गरेकी थिइन्। सोही निर्णयविरुद्ध युवराज पौडेल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी तथा अधिवक्ता आभास रेग्मी ले सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट निवेदन दायर गरेका थिए।

अब पूर्ण इजलासमा हुने सुनुवाइले यस प्रकरणमा अन्तिम कानुनी निष्कर्ष निकाल्ने अपेक्षा गरिएको छ। अदालतको आगामी निर्णयले यस मुद्दाको दिशा र दीर्घकालीन प्रभाव स्पष्ट पार्ने विश्वास गरिएको छ।

Sarita Karmakar