ओली र लेखक आज अदालतमा पेस गरिँदै, अनुसन्धानका लागि म्याद थप मागिने

बिराटनगर । पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखक लाई आज जिल्ला अदालत काठमाडौंमा पेस गरिने भएको छ।

शनिबार पक्राउ परेका दुवै नेतालाई अदालत बिदा परेकाले आइतबार मात्र पेस गर्न लागिएको हो। प्रहरी स्रोतका अनुसार अनुसन्धानका लागि थुनामा राख्न म्याद थपको अनुमति माग्दै जिल्ला सरकारी वकिलको कार्यालयमार्फत अदालतमा उपस्थित गराइने तयारी गरिएको छ।

कानुनी प्रावधानअनुसार प्रहरीले अभियुक्तलाई अधिकतम २४ दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न सक्ने व्यवस्था छ। तर, त्यसका लागि अदालतको अनुमति अनिवार्य हुन्छ।

पक्राउपछि केपी शर्मा ओली स्वास्थ्य समस्याका कारण अस्पतालमा भर्ना भएका छन् भने रमेश लेखक लाई महाराजगञ्जस्थित प्रहरी हिरासतमा राखिएको छ।

गत भदौ २३ र २४ गतेको ‘जेनजी आन्दोलन’ सम्बन्धी घटनाको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले दिएको प्रतिवेदन कार्यान्वयनका क्रममा प्रहरीले उनीहरूलाई भक्तपुरबाट पक्राउ गरेको हो।

आयोगले आन्दोलनका क्रममा भएको मानवीय क्षतिको जिम्मेवारी निर्धारण गर्दै तत्कालीन प्रधानमन्त्री ओली, तत्कालीन गृहमन्त्री लेखक तथा नेपाल प्रहरीका तत्कालीन महानिरीक्षक चन्द्रकुबेर खापुङविरुद्ध अनुसन्धान र अभियोजन गर्न सिफारिस गरेको थियो।

Sarita Karmakar